
काठमाडौं— इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित निकालेको छ ।
सोमबार राति सम्पन्न खेलमा मोहम्मद सलाहल चम्किँदा लिभरपुलले न्युक्यासल युनाइटेडमाथि ४–२ गोल अन्तरले शानदार जित निकालेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउनका मोहम्मद सलाहले २ गोल गर्दा कर्टिस जुलियन जोन्स र कोडी म्याथेस गाक्पोले एक एक गोल थपेका थिए ।
न्युक्यासलका लागि अलेक्जेन्डर आइज्याक र स्वेन एड्रियान बोटम्यानले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका हुन् ।
४९ औं मिनेटमा सलाहले डार्विन गेब्रियल नुनेजको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । अलेक्जेन्डर आइज्याकले ५४ औं मिनेटमा एन्थोनी गोडोनको पासमा गोल गर्दै न्युक्यासललाई १–१ को बराबरीमा ल्याएका थिए ।
७४ औं मिनेटमा कर्टिस जुलियन डिएगो जोटाको पासमा गोल गर्दै २–१ ले लिभरपुललाई अघि बढाएका थिए । ७८ औं मिनेटमा सलाहको पासमा कोडी म्याथेस गाक्पोले गोल गरेपछि लिभरपुल ३–१ को अवस्थामा पुगेको थियो ।
८१ औं मिनेटमा सिन डेभिडन लङस्टाफको पासमा एड्रियान बोटम्यानले गोल गर्दै अन्तर ३–२ मा झारेका थिए । तर, ८६ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल ४–२ को फराकिलो जित निकाल्न सफल भयो ।
जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ३ अङ्कको अग्रता बनाएको छ । लिभरपुलले २० खेलबाट ४५ अंक बनाउँदा दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको समान खेलबाट ४२ अंक रहेको छ । लिभरपुलसँग पराजित भएको न्युक्यासल भने २९ अङ्कका साथ नवौँ स्थानमा छ ।