
काठमाडौं— कोशी प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वालीफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।
यसअघि एपीएफ पहिलो क्वालीफायरमा कोशीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । सुदूरपश्चिम प्रदेशले एलिमिनेटर राउन्डमा बागमती प्रदेशलाई स्तब्ध बनाउँदै दोस्रो क्वालीफायरमा स्थान बनाए पनि फाइनलमा पुग्न असफल रह्यो ।
किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ७ विकेट गुमाएर ८८ रन बनाएको थियो । जबाफी ब्याटिङ गरेको कोशी प्रदेशले १३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन जोडिन् । त्यस्तै, विन्दु रावलले १७ रन, कविता जोशीले १५ रन, रुविन पोद्दार र अनु कडायतले समान ७–७ रन बनाए । केशीका लागि संगीता राईले सर्वाधिक २ विकेट लिँदा सबनम राई, निशा शाह र एलिशा खडियाले १–१ विकेट लिए ।
८९ रनको सामान्य लक्ष्य पछ्याएको कोशीले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो विकेटको रुपमा कप्तान रुविना क्षत्री र काजल श्रेष्ठको बिचमा ५९ रनको साझेदारी गरेका थिए । रुविना ३७ रन बनाएर आउट हुँदा अन्त्यमा काजल श्रेष्ठले ३८ तथा अप्सरी बेगमले १२ रनको नटआउट पारि खेले । सुदूरपश्चिम प्रदेशका लागि लक्ष्मी साउदले १ विकेट लिइन् ।