
काठमाडौं— अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् ।
आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी–२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिँदैछु,’ वार्नरले सिड्नी क्रिकेट मैदानमा सोमबार भनेका छन् ।
उनले वान डे विश्वकपको बेला नै यसबारे भनिसकेको र भारतमा गएर विश्वकप उपाधि जित्नु ठूलो उपलब्धि भएको बताए । तर, अष्ट्रेलियालाई आवश्यक परे उनी २०२५ को च्याम्पियन्स ट्रफीमा आफू उपलब्ध हुने पनि जनाएका छन् ।
दुई वर्षपछि फर्कने अवस्था नभएमा वार्नरको लागि अहमदाबादमा भएको भारतविरुद्धको विश्वकप फाइनल खेल नै अन्तिम ओडीआई खेल हुनेछ ।
उनले अष्ट्रेलियाका लागि १६१ ओडीआई खेल्दै २२ शतकको मद्दतमा ६ हजार ९३२ रन बनाएका छन् । उनी अष्ट्रेलियाका लागि वान डे मा सर्वाधिक रन बनाउनेमा छैटौँ स्थानमा छन् भने शतक बनाउने सूचीमा रिक्की पोन्टिङपछि दोस्रोमा छन् ।