News Griha :: न्यूजगृह
आईपीएलमा दिल्लीको लगातार चौथो हार

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले मंगलबार दिल्ली क्यापिटल्सलाई अन्तिम बलमा पराजित गर्दै सिजनको पहिलो जित निकालेको छ ।

पहिलो जितपछि मुम्बईले ३ खेलबाट २ अंक जोडेको छ । घरेलु मैदान अरुण जेट्ली स्टेडियममा ६ विकेटले पराजित भएको दिल्लीले लगातार चौथो हार बेहोरेको हो ।

जारी सिजन दिल्ली मात्रै जितविहीन छ । 

दिल्लीले दिएको १७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा पूरा गरेको हो । अन्तिम ओभरमा जितका लागि पाँच रन मात्र आवश्यक रहेका बेला दिल्लीका एनरिक नोर्कियाले सुरुको पाँच बलमा ३ रनमात्र दिएपछि मुम्बईलाई खेल जित्न अन्तिम बलमा २ रन चाहियो । जसमा टिम डेविडले दुई रन लिँदै मुम्बईलाई जित दिलाए ।

टिमले ११ बलमा अविजित १३ रन जोडे । मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६५ रन बनाए । दिल्लीका मुकेश कुमारले २ तथा मुस्तापिजर रहमानले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २ बल बाँकी छँदा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०७:२५
Weather Update