
काठमाडौं— पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार राति काठमाडौंबाट पक्राउ परेका छन् ।
उनी सहकारी ठगी मुद्दामा फरार सूचीमा थिए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दर्लामीलाई पोखरा लगिदैछ । उनलाई आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने स्रोतले बतायो ।
उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् ।
पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित १७ जना अझै फरार छन् । जीबी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक पनि हुन् । जिल्ला अदालत कास्कीमा दर्ता भएको मुद्दामा सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ ।
उनीहरूलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।
रम्तेल गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष हुन् । गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी फोरके टीभी सञ्चालन गरिरहेको छ । बचतकर्ताको रकम टीभीमा लगानी गरेको आरोपसमेत जीबी राईलाई लागेको छ । सहकारीले कम्पनीमा लगानी गर्न नपाउने नियम छ ।













