News Griha :: न्यूजगृह
ग्यालेक्सी फोरके टीभीका सञ्चालक कुमार रम्तेल पक्राउ

काठमाडौं— पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्षसमेत रहेका ग्यालेक्सी फोरके टीभीका सञ्चालक कुमार रम्तेल पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

रम्तेल गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष हुन् । गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी फोरके टीभी सञ्चलान गरिरहेको छ । 

जिल्ला अदालत कास्कीले आइतबार सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष एवं ग्यालेक्सी फोरके टीभीका सञ्चालक जीबी राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये रम्तेल पक्राउ परेका हुन् भने अरुको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । 

पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी दिएका थिए । जाहेरी दिएकाले १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग गरेका छन् ।

पोखरा महानगर ४ मा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:३९
Weather Update