News Griha :: न्यूजगृह
ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राईसहित १८ जनाविरुद्ध रेड कर्नर नोटिसको तयारी

काठमाडौं— पोखराको सूर्यदर्शन सहकारीका पदाधिकारी गितेन्द्रबाबु (जीबी) राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहित १८ जनाविरुद्ध प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ ।

जीबी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक पनि हुन् । सहकारीका बचतकर्ताले आफूहरूको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि फरार जीबी राई, महेन्द्र भोटेलगायतलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट रेडकर्नर नोटिस जारी गर्ने तयारी भएको हो ।

‘रेड कर्नर नोटिस जारी गर्न आइतबार प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा पठाउँछौं । त्यहाँबाट बाँकी प्रक्रिया अगाडि बढ्छ’, कास्की प्रहरी प्रमुख मोहन थापाले भने, ‘फरार १८ जनाको खोजी गर्न सीआईबीलाई पनि भनेका थियौं । उनीहरु देश बाहिर भएको जानकारी पछि रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाएका हौं ।’

सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । रम्तेल गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष हुन् । गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी फोरके टीभी सञ्चालन गरिरहेको छ । 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेकामा रम्तेल मात्र पक्राउ परेका थिए । बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । तर सूर्यदर्शनका एक जनाबाहेक अरु पदाधिकारी पक्राउ परेनन् । 

शुक्रबार जिल्ला अदालत कास्कीबाट पनि फरार १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पुर्जी जारीपछि प्रहरीले उनीहरूको खोजीका लागि रेडकर्नर नोटिस जारी गर्न लागेको हो ।

सहकारीका बचतकर्ताको रकम हिनामिना विषयमा जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ । 

जिल्ला अदालतमा दर्ता भएको मुद्दामा सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ । उनीहरूलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १८:५२
Weather Update