
काठमाडौं— काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । बाग्मतीले लिएको ८८ रनको लक्ष्य कोशीले १८.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
कोशीको जितमा काजल श्रेष्ठको नटआउट ४१ रनको नटआउट र अप्सरी बेगमको ४१ रनको पारि महत्वपूर्ण रह्यो । कप्तान रुविना क्षेत्री भने २ रन बनाएर सुरुमै आउट भएपछि काजल र अप्सरीले पारि सम्हालेका थिए ।
४१ रन बनाएर आउट हुँदा अप्सरीले ५४ बलमा १ छक्का र ४ चौका प्रहार गरिन् । उनी आउट भएर क्रिजमा आएकी लकिता राजवंशीले कुनै पनि बल फेस गरिनन् भने अन्त्यमा काजलले छक्का प्रहार गर्दै कोशीलाई जित दिलाइन् । उनले ५१ बलमा १ छक्का र ३ चौकाको मद्दतले ४१ रनको नटआउट पारि खेलेकी हुन् ।
बाग्मतीका लागि सोनी पाख्रिन र संस्कृति फुँयालले एक एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको बाग्मतीले निर्धारित ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । बाग्मतीका लागि सर्वाधिक ४१ रन बनाउने खेलाडी यशोदा विष्ट हुन् । यसैगरी कप्तान अस्मिना कर्माचार्य २४ रन बनाएर रनआउटको शिकार बनिन् ।
अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कन्चन श्रेष्ठले ८ रन बनाउँदा खुसी डंगोल ३ रनमा पभेलियन फर्किइन् । सलिना सिलवालले २ तथा हेलिसा गुरुङ र कृष्मा गुरुङले एक एक रन जोडे ।
बागमतीविरुद्ध कोशीका खेलाडीको फिल्डिङ उत्कृष्ट हुँदा ३ जना खेलाडी रनआउटको शिकार भएका थिए ।
कोशीका लागि अप्सरी बेगम र सबनम राईले दुई दुई विकेट लिँदा संगीता राईले एक विकेट हात पारिन् ।