काठमाडौं— उद्यमी तथा साहित्यकार वसन्त चौधरीले हरेक शुक्रबार सीजी युट्युब च्यानलमार्फत अन्तर्वार्तामा आधारित कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनमा ल्याउने भएका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको संघर्ष तथा जीवन आरोहअवरोह पस्कने उद्देश्य रहेको उनले बताएका छन् । कलाकार मनीषा कोइराला, नीर शाह, सुरक्षा पन्त, दीपक बज्राचार्य, आनी छोइङ डोल्मा, रुबी राणा, उद्यमी विदुषी राणा, मानसी अग्रवाल लगायतसँगको संवाद कार्यक्रममार्फत पस्कने उनको योजना छ ।
भोलि (शुक्रबार) कार्यक्रममा पहिलो अतिथिका रूपमा मनीषा कोइराला रहने सीजी इन्टरटेनमेन्टका सहअध्यक्ष हरिहर शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘जीवन यात्राका क्रममा धेरै ट्वीस्ट हुन्छन् । तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ, प्रयत्नले गर्दा नै मैले पनि व्यापार व्यवसाय बाहेक मनले रोजेको सिर्जना यात्रामा केही पाइला हिँड्न सकेँ,’ कार्यक्रम उद्घोष चौधरीले भनेका छन् ।
उनले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनामा उतारेको बताएका छन् ।
६७ वर्षीय उद्यमी चौधरी १७ वर्षको उमेरदेखि नै पुर्ख्यौली व्यवसाय (अरुण इम्पोरियम)मा आबद्ध छन् । २०४१ सालमा ‘ग्रुप-३’ नामक कम्पनी स्थापना गरी उनले आफ्नै व्यवसाय प्रारम्भ गरेका थिए । विज्ञापन एजेन्सीका रूपमा स्थापित उक्त कम्पनीबाट ‘उर्वशी’ नामक पत्रिका पनि प्रकाशित भएको थियो ।
२०५७ सलमा स्थापित नर्भिक इन्टरनेसनल हस्पिटलका संस्थापक अध्यक्ष रहेका उनी चौधरी ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन्। २०४५ मा सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योगको जिम्मेवारी सम्हालेका चौधरी त्यतिबेलै त्यहाँ लुनकरणदास गंगादेवी चौधरी च्यारिटी हस्पिटल स्थापना गरी स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गरेका हुन् ।