
काठमाडौं— इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ । शुक्रबार राति भएको खेलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
जितपछि टोटनह्याम ३३ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा रहँदा नटिङ्घम भने १४ अङ्कका साथ तालिकाको १६ औं स्थानमा छ । टोटनह्यामलाई जित दिलाउँदा रिचार्लिसन र डेजन कुलसेभस्कीले एक-एक गोल गरेका थिए ।
पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाए । ६५ औं मिनेटमा कुलसेभस्कीले गोल गरेपछि अग्रता दोब्बर भयो । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि टोटनह्याम २–० को जित निकाल्दै स्पष्ट ३ अङ्क लिन सफल भयो ।
प्रिमियर लिग अन्तर्गत शनिबार आज ५ वटा खेल हुने छन् । राति पौने ९ बजे ४ खेल हुँदा सवा ११ बजे एक खेल हुने छ । बर्नमाउथ र लुटन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिष्टल प्यालेस तथा न्युक्यासल र फुलह्याम पौने ९ बजे आमने सामने हुने छन् ।
त्यसैगरी सवा ११ बजेको खेलमा बर्नले र एभर्टनले प्रतिस्पर्धा गर्ने छन् ।