News Griha :: न्यूजगृह
यू–१९ एसिया कपमा आज भारतसँग खेल्दै नेपाल

काठमाडौं— यू–१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै छ। यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा बिहान सवा ११ बजे नेपाल र भारतबीचको खेल सुरू हुनेछ ।

समूह ‘ए’ मा रहेको भारत र नेपाल दुवैले आज समूह चरणको अन्तिम खेल खेल्दै छ । यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो । उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो ।

नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो । नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २–२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ । समूह चरणका शीर्ष दुई टीमले सेमिफाइनल खेल्नेछ। समूह चरणमा दुई हार ब्यहोरे पनि नेपालको सेमिफाइनल सम्भावना सकिएको छैन ।

आज नेपालले भारतलाई हराएर पाकिस्तानले अफगानिस्तानलाई हरायो भने नेपाल सेमिफाइनल पुग्नेछ। अफगानिस्तान र पाकिस्तानबीचको खेल पनि आजै सवा ११ बजे सुरु हुनेछ । समूह ‘बी’ को समूह चरणको अन्तिम खेल भोलि हुनेछ । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन् ।

४ अंकसहित बंगलादेश समूह ‘बी’ को शीर्ष स्थानमा छ। श्रीलंका र आयोजक युएई समान २–२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ । समूह चरणमा दुबै खेल हारेको जापान शून्य अंकसहित पुछारमा छ । सेमिफाइनल खेल शुक्रबार हुनेछ। सेमिफाइनलमा जित्ने दुई टीमले पुस १ गते उपाधिका लागि भिड्नेछ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १०:१७
Weather Update