News Griha :: न्यूजगृह
बार्सिलोनालाई पराजित गर्दै जिरोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं— बार्सिलोनालाई ४-२ ले पराजित गर्दै जिरोना स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।

आफ्नो इतिहासमै चौथो पटक स्पेनको शीर्ष श्रेणीको फुटबल खेलिरहेको जिरोनाले क्याटलान प्रतिद्वन्द्वी बार्सिलोनामाथि पहिलो पटक जित हात पारेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा अर्टेम ढोभबिकले १२औं मिनेटमा गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए ।

Girona's-Artem-Dovbyk-1702259505.jpg

रोबर्टो लेवान्डोस्कीले १९औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए । तर मिगुएल गुटिरेजले ४०औं मिनेटमा गोल गरेपछि जिरोनाले पहिलो हाफमै २-१ को अग्रता बनायो ।

भालेरी पर्नान्डेजले ८०औं मिनेटमा गोल गर्दै जिरोनालाई ३-१ को अग्रता दिलाए । इन्जुरी टाइमको दोस्रो मिनेटमा बार्सिलोनाका इल्के गुन्डागोवनले गोल गर्दै गोलअन्तर घटाएका थिए । तर इन्जुरी टाइमको पाँचौ मिनेटमा क्रिस्टियन स्तुअनीले गोल गरेपछि जिरोनाले बार्सिलोनामाथि जित निकालेको हो ।

Girona's-Valery-Fernandez-1702259504.jpg

जिरोनाको यस सिजनको प्रदर्शनलाई धेरैले आश्चर्यजनक रुपमा लिएका थिए । तर बार्सिलोनालाई पराजित गरेपछि जिरोनाले आफ्नो क्षमता देखाउँदै अंक तालिकामा किन माथि छ भन्नेसमेत प्रमाणित गरेको छ ।

जितपछि १६ खेलबाट ४१ अंक जोडेर जिरोना शीर्ष स्थानमा उक्लेको छ । जिरोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि दुई अंकको अग्रता बनाएको छ । यस्तै तेस्रो स्थानको एट्लेटिको मड्रिड र चौथोमा झरेको बार्सिलोनामाथि समान ७ अंकको अग्रता बनाएको छ ।

Barcelona's-Robert-Lewandowski-1702259503.jpg

अल्मेरियालाई २-१ ले हराएको एट्लेटिकोले १५ खेलबाट ३४ अंक जोडेको छ । बार्सिलोनाको १६ खेलबाट ३४ अंक छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०८:०१
Weather Update