
काठमाडौं— हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढा प्रथम भएकी छन् ।
बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पारेकी हुन् । हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको दूरी बुढाले १४ घण्टा ४० मिनेटमा पार गरिन्।
हङकङमा भएको ट्रेल रेस प्रतिस्पर्धामा बुढाको लगातार पाँचौँ जितसहित नयाँ कीर्तिमानी राखेकी हुन् । प्रतिस्पर्धामा हङकङकै चेउङ मन यीले १४ घण्टा ५९ मिनेट २ सेकेन्ड र एन्जी यानले १६ घण्टा २५ मिनेट ३१ सेकेन्डमा पूरा गरी क्रमश दोस्रो र तेस्रो भए।
पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राई तेस्रो भए । कुलुङले निर्धारित दूरी १४ घण्टा ४७ मिनेट २६ सेकेन्डमा पूरा गरेका हुन् । फिलिपिन्सका जोन रे ओनिफाले ११ घण्टा ५७ मिनेट १६ सेकेन्डमा तोकिएको दूरी पार गरी प्रथम हुँदा स्विट्जरल्यान्डका गुइल्लौमे पेरोटले १४ घण्टा २ मिनेट ९ सेकेन्डमा पूरा गरेर दोस्रो भए ।
दौडका क्रममा भने आफूले बाटो बिराउँदा हतासिनु परेको बुढाले बताइन् । उनले भनिन्, 'म र अर्जुन हामी दुवैले एक नम्बर चेक पोइन्टबाट बाटो बिराएका थियौँ । रातिको समय अनि द्विविधा युक्त चिह्नका कारण हामीलगायत धेरै प्रतियोगीले बाटो बिराएका थिए ।'
आफूले पहिलो पटक रात्रिकालीन समयको बाटोमा दौड्नु परेकाले आठ किलोमिटर बाटो बिराएको उनले बताइन् । बुढाले भनिन्, 'दौड सुरु पश्चात करिब १२/१३ किलोमिटर दूरीको उकालो पार गरेपछि चेक पोइन्ट १ मा पुगिन्थ्यो । पुगेपछि त्यहाँ दुईवटा चिह्न राखिएको थियो । अब कुन बाटो जाने भन्ने दोधारमा परियो । दौडका क्रममा केही प्रतिस्पर्धी त्यही बाटो लागेकाले हामी पनि पनि उतै लाग्यौँ ।'
बाटो बिराउँदा हरेस खाएकी उनले एक चिनियाँ पुरुष प्रतिस्पर्धीको सहयोगमा पुनः एक नम्बर चेक पोइन्टमा फर्केर तोकिएको ट्रेल रेसको यात्रामा लागिएको बताइन् । हारे पनि दौड्न छोड्नु हुन्न भनेर रेसमा जोडिएकी बुढाले लगातार ७५ किलोमिटर दूरी पार गरेपछि चेक पोइन्ट ७ मा निकटतम प्रतिस्पर्धीलाई भेटाएकी थिइन् ।
प्रतिस्पर्धीलाई भेट्दा आँट बढेर त्यहीँबाट उछिन्न सफल भएको बताउँदै पछाडि नफर्के रै जित हात पारेको उनले बताइन् । बुढाले द नर्थ फेस टीम एपीएबाट प्रतियोगितामा भाग लिएकी हुन् ।