News Griha :: न्यूजगृह
प्रधान सेनापति ट्रफी–२०७९ खेलकुद प्रतियोगिता सुरु

काठमाडौं— राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडीहरू तयार गर्ने उद्देश्यले सोमबारदेखि जंगीअड्डास्थित खेल मैदानमा प्रधान सेनापति ट्रफी–२०७९ खेलकुद प्रतियोगिता सुरु भएको छ ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले समुद्‍घाटन गरेको कार्यक्रम १० वैशाखसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको छ ।

यस वर्षको प्रतियोगितामा एकसिंगे गैंडालाई मास्कटको रुपमा प्रयोग गरिएको छ । कार्यक्रममा खेलाडीहरूबाट एकसिंगे गैंडाको मास्कटसमेत प्रदर्शन गरिएको थियो ।

समुद्‍घाटन समारोहमा सोमबार सम्पन्‍न महिला तथा पुरुष १५०० मिटर दौडका विजेतालाई प्रधान सेनापति शर्माले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबललगायतका खेलहरू सञ्चालन हुनेछन् ।

सेनाभित्र रहेका खेलाडीहरूको प्रतिभा पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडीहरू तयार गर्ने उद्देश्यले प्रधान सेनापति ट्रफी–२०६५ सालबाट सुरु भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १९:२४
Weather Update