News Griha :: न्यूजगृह
लेखक हितानको 'लाहुरेको रेलिमाई' माथि विमर्श

काठमाडौं— लेखक विजय हितानद्वारा लिखित उपन्यास 'लाहुरेको रेलिमाई' माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । मास्टर मित्रसेन थापाको ७७ औँ पुण्य तिथिमा मास्टर मित्रसेन थापा साहित्य कला संस्थानले आइतबार उक्त कार्यक्रमको आयोजना गरेको हो ।
सुनिल प्रणामी राईले उक्त उपन्यासमाथि टिप्पणी राख्ने क्रममा लाहुरेको रेलिमाई एक ऐतिहासिक युद्ध उपन्यास रहेको र साहित्यकार, सङ्गीतकार,नाटककार, तथा समाजसेवी मास्टर मित्रसेनको लाहुरे र गैर लाहुरे जीवनमा आधारित आख्यान भएको बताए ।
उनले प्रथम विश्वयुद्धमा स्वयं मित्रसेन लगायत हजारौँ गोर्खाली सेनाले बाचेको जीवनको प्रतिविम्बलाई जीवन्तरुपमा उपन्यासमा चित्रण गरिएको भन्दै लाहुरेको रेलिमाई आफैमा लाहुरेमाथि लेखिएको एक महत्त्वपूर्ण र ऐतिहासिक कृति भएको बताए । उनले भने, 'उपन्यासका पात्रहरू यति जीवन्त छन् कि मास्टर मित्रसेन फौजी जीवनबाट निवृत्त भएपछि नेपाली भाषा, साहित्यको उत्थान अनि नेपाली संगीत र नाटकको विकास र तत्कालीन समाजमा जनजागरण ल्याउन उनले गरेको संर्घष र योगदानको बारेमा पुस्तकले समेटेको छ ।'

मन्तव्यको क्रममा उपन्यासकार विजय हितानले, आफूले छ वर्ष मास्टर मित्रसेनको लाहुरे र निवृत्तिपछिको जीवनबारे साथै प्रथम विश्वयुद्धमा गोर्खालीको संलग्नताबारे अध्ययन अनुसन्धान र भ्रमण गरेर लाहुरेको रेलिमाईलाई जन्माएको कुरा बताए ।
कार्यक्रमका प्रमुख वक्ता डा. खगेन शर्माले आइ बि राई, बहादुर सिंह बराल, मगन पथिक इत्यादिको प्रेरणा र प्रोत्साहनले मास्टर मित्रसेन सफल भएको र मृत्युपश्चात् बहु आयामिक व्यक्तित्वको रूपमा चर्चा बटुल्दै नेपाल र भारतका जनताबाट सम्मान प्राप्त गरेको बताए ।
आयोजक संस्थाका  अध्यक्ष अजय थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सञ्चालन मन्दिरा रावतले गरेकी थिइन् । उक्त उपन्यासको प्रकाशन सांग्रिला बुक्स काठमाडौंले गरेको हो ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १९:१३
Weather Update