
काठमाडौं— ‘नेपालगञ्ज म्याराथन’को नवौँ संस्करणको उपाधि सशस्त्र प्रहरी एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।
छैटौँ संस्करणको उपाधि पार्कीले नै जितेका थिए । उपाधिसँगै पार्कीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
पार्कीले अघिल्लो संस्करणका विजेता नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका हुन् । खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । एपीएफकै किरणसिंह बोगटी तेस्रो भए । उनले ५० हजार रुपैयाँ प्राप्त पारे ।
यस्तै, महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । यो जितसँगै उनले महिला हाफ म्याराथनमा ह्याट्रिक गरेकी छन् । सातौँ संस्करणबाट लगातार प्रथम स्थान हासिल गरेकी श्रेष्ठले महिला म्याराथनमा ह्याट्रिक गरेकी हुन् ।
यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारीले तृतीय स्थान हासिल गरिन् । प्रथम स्थान हासिल गरेकी सन्तोषीले ७५ हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो भएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार रुपैयाँ हात पारिन् ।