News Griha :: न्यूजगृह
बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगे दुर्गा प्रसाईँ, निवेदनमाथि आइतबार सुनुवाइ हुने

काठमाडौं— भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईँको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ । बिहीबार काठमाडौंको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईँले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

तर, स्थानीय प्रशासनले शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिइएको छ भने केहीलाई सम्झाइबुझाइ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रसाईँलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार प्रसाईँलाई उनकै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै घरमै बस्न आग्रह गरिएको जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:२५
Weather Update