News Griha :: न्यूजगृह
दुर्गा प्रसाईँलाई घरबाट निस्कनै नदिने रणनीति, निवासमा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ

काठमाडौं— दुर्गा प्रसाईँको अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी प्रशासनले नयाँ रणनीति बनाएको छ ।

प्रसाईँको भक्तपुर ठिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको छ । प्रहरीले प्रसाईँको घरलाई वरपरबाट घेरेको छ । सुरक्षा स्रोतका अनुसार उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ ।

काठमाडौं प्रहरीले बिहान प्रसाईँका केही समर्थकलाई पक्राउसमेत गरेको छ । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भने प्रसाईंको घर वरपर सुरक्षा बढाइएको बताइन् ।  ‘सुरक्षाका कारण उहाँको घरमा सुरक्षा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्नुभयो भने, कार्यक्रममा सहभागी हुनबाट पनि रोक्दैनौं,’ श्रेष्ठले भनिन् । 

प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको काठमाडौं प्रशासनले प्रष्टयाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:१९
Weather Update