News Griha :: न्यूजगृह
घरेलु मैदानमा नेपाल यमनसँग २-० ले पराजित 

काठमाडौं— फिफा विश्वकप-२०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे ।

ओमारले ७२ औं मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । उनले नेपाली लेफ्ट ब्याक आशिष चौधरी उपचारका क्रममा मैदान बाहिर रहँदा गोल गरेका थिए ।

यस्तै मोहम्मद अब्दुल्लाह अल-दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे । दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २-० ले पराजित भएको थियो ।  नेपाल यसअघि यूएईसँग ४-० ले पराजित भएको थियो । नेपाल समूह एचमा अंकविहीन छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २१:२२
Weather Update