
काठमाडौं— भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलियालाई भारतले २४१ रनको चुनौती दिएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा पूरै विकेट गुमाउँदै २४० रन बनाएको हो ।
भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतक पूरा गर्दा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए । रोहितले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। विराटले ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे ।
जारी विश्वकपमा उनको यो छैटौँ अर्धशतक हो । उनले तीन शतक प्रहार गरेका छन्। यो विश्वकपमा विराटले सर्वाधिक रन जोडेका छन् । उनले ११ खेलमा ७६५ रन जोडेका हुन् ।
बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए। उनले १० ओभरमा ५५ रन खर्चिए । जोश हजलउड र पाट कमिन्सले २ विकेट लिए । हजलउडले १० ओभरमा ६० रन र कमिन्सले १० ओभरमा ३४ रन दिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले १-१ विकेट लिन सफल भए ।