News Griha :: न्यूजगृह
संघर्षपूर्ण जितसँगै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, उपाधिको लागि आइतबार भारतको सामना गर्ने

काठमाडौं— कीर्तिमान पाँच पल्टको च्याम्पियन अष्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ को फाइनल यात्रा तय गरेको छ । उसले बिहीबार भएको सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण तीन विकेटको जित निकालेको हो । अब आइतबार हुने फाइनलमा अष्ट्रेलियाले उपाधिको भिडन्तमा भारतको सामना गर्नेछ ।

अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल पुगेको यो कीर्तिमान आठौं पल्ट हो । दक्षिण अफ्रिका भने फेरि एकपल्ट सेमिफाइनलमै रोकिएको छ । जितका लागि २ सय १३ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाएर २ सय १५ रन बनाएको हो । अष्ट्रेलियाको सुरुआत भने राम्रो रह्यो र पहिलो विकेटका लागि डेविड वार्नर तथा ट्रेभिस हेडले ६० रनको साझेदारी गरे ।

हेडले ४८ बलमा ६२ रन बनाए र त्यसमा नौ चौका तथा दुई छक्का सामेल थियो । वार्नरले २९ रन बनाए र उनी आउट भएपछि अष्ट्रेलियाले नियमित अन्तरमा विकेट गुमाउन थालेको थियो । तर स्टिभ स्मिथको ३० र जोस इंग्लिसको २८ रन अष्ट्रेलियालाई जित दिलाउने आधार बन्यो । अन्त्यमा मिचेल स्टार्क १६ र प्याट कमिन्स १४ रनमा नटआउट रहे ।

त्यस अगाडि डेविड मिलरको शतकको मदतले दक्षिण अफ्रिकाले ४९.४ ओभर टिकेर सबै विकेट गुमाउँदै २ सय १२ रन बनायो । छैटौं क्रममा ब्याटिङका लागि क्रिजमा आएका मिलरले १ सय १६ बलको सामना गरेर आठ चौका तथा पाँच छक्का प्रहार गरे । उनी प्याट कमिन्सको बलमा हेडद्वारा समातिए ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन् र २४ रन बनाउँदासम्म उसले चार विकेट गुमाइसकेको थियो । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र जोस हेजलउडले सुरुआती दुई दुई विकेट लिएका थिए । त्यही स्थितिमा मिलरले हेनरिक क्लासनसँग मिलेर पाँचौं विकेटका लागि ९५ रनको साझेदारी गरे ।

क्लासन ट्रेभिस हेडको बलमा क्लिन बोल्ड भए । उनले ४७ रन बनाए । त्यो चार चौका तथा दुई छक्काको मदतले ४८ बलमा बनाइएको स्कोर थियो । उनीहरूलाई छाडेर अन्य ब्याटरले गतिलो योगदान दिन सकेनन् । अष्ट्रेलियाली बलरमध्ये स्टार्क र प्याट कमिन्सले तीन तीन विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०६:४९
Weather Update