आईसीसी विश्वकप सेमिफाइनल : जितको लागि अष्ट्रेलियाले पायो २१३ रनको लक्ष्य

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतको इडेन गार्डेनमा जारी सेमिफाइनलमा ४९.४ ओभरमा अलआउट हुँदै दक्षिण अफ्रिकाले २१२ रन बनाएको हो । दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए । यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके ।
उनी ४७ रन बनाएर आउट भएका हुन् । जेराल्ड कोत्जीले १९ रन, एडेन मार्क्रमले १० रन, कागिसो राबाडाले १० रन बनाए । अन्य खेलाडीले दुई अंकको रन जोड्न सकेनन् ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्क र पाट कमिन्सले ३-३ विकेट लिए । जोश हजलवुड र ट्राभिस हेडले २-२ विकेट लिएका छन् ।
अहिले अष्ट्रेलियाले जबाफी ब्याटिङ गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८० १९:१२