
काठमाडौं— चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ।
नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ फाइनलमा पुग्यो। तान्जानिया पनि दुई जित सहित फाइनलमा पुगेको छ। अन्तिम खेलअघि नेपाल र जापान भने फाइनलमा पुग्न असफल भए ।
आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको थियो । जसका कारण नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमै मात्र १ विकेट गुमाएर पार गर्यो ।
त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमै अलआउट भयो।
नेपालका सुरुवाती ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । दोस्रो ओभरमा ओपनर पूजा महतोलाई ४ रनमा रनआउटको रुपमा गुमाएपछि नेपालको लगातार विकेट गएको थियो ।
हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलित महिला टी-२० सिरिजमा बुधबार तान्जानियासँगको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको थियो।
अब नेपालले लिगको अन्तिम खेल जापानसँग मंसिर २ गते खेल्नेछ। शीर्ष २ मा रहनेले उपाधिका लागि खेल्नेछ भने बाँकी २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। यससँगै नेपालले लिग चरणको खेलमा जापानसँग खेलेपछि फेरि जापानसँगै तेस्रो स्थानका लागि खेल्नेछ।