
काठमाडौं—आईसीसी एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनल खेलमा बिहीबार दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा २ बजे कोलकातास्थित ऐतिहासिक इडेन गार्डेन स्टेडियममा सुरु हुनेछ । यो खेलमा विजयी हुने टोलीले जारी विश्वकपको उपाधिका लागि आयोजक राष्ट्र भारतसँग भिडन्त गर्नेछ । भारत भने बुधबार खेलिएको पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिकाले हालसम्म एकदिवसीय विश्वकपको उपाधि जितेको छैन भने अष्ट्रेलिया पाँचपटकको विश्व च्याम्पियन हो । जारी विश्वकपमा भने दक्षिण अफ्रिका निकै लयमा देखिएको छ । प्रारम्भिक चरणको खेलपछि अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् ।
दक्षिण अफ्रिका र अष्ट्रेलिया दुवैले प्रारम्भिक चरणमा खेलिएका नौमध्ये सात खेलमा जित हात पारेका थिए । तर, नेट रन रेटमा भने अष्ट्रेलियाभन्दा दक्षिण अफ्रिका अगाडि थियो । प्रारम्भिक चरणमा यी दुबै टोली आयोजक भारतसँग पराजित भएका थिए ।