News Griha :: न्यूजगृह
भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको विशाल लक्ष्य
Photo: AP/RSS

काठमाडौं— आईसीसी एक दिवसीय विश्वकपको बुधवार खेलिएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो ।  मुम्बईको वांखेडे रङ्गशालामा खेलिएको उक्त खेलमा भारतका लागि प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी शतक बनाए । उनले टोलीका लागि एक सय १७ रनको योगदान गरे  ।

न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलमा विराटका अतिरिक्त चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि सतकीय पाली खेले । उनले टोलीका लागि एक सय पाँच रनको योगदान गरे । यसका क्रममा उनले केवल ७० बलको सामना गरी आठ छक्का र चार चौका हिर्काए । 

ओपनर ब्याट्सम्यान शुभमन गिलले पनि टोलीका लागि अविजित ८० रनको योगदान गरे । उनले ६६ बलको सामना गरी तीन छक्का र आठ चौका पनि हिर्काए । त्यसअघि ७९ रन बनाउँदै उनी ‘रिटायर्ड हर्ट’ भई पेभेलियन फर्किएका थिए । भारतको चौथो विकेट खसेपछि उनी पुनः क्रिजमा फर्किएका थिए ।

त्यसअघि कप्तान रोहित शर्माले पनि टोलीको खातामा ४७ रन थपेका थिए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका कप्तान रोहितले केवल २९ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए । विकेटकिपर ब्याट्सम्यान केएल राहुलले पनि टोलीका लागि अविजित ३९ रनको योगदान गरे । उनले केवल २० बलमा दुई छक्का र पाँच चौका प्रहार गरे ।

भारतले अतिरिक्त रुपमा आठ रन पाएको थियो । भारतीय ब्याट्सम्यानसामु न्युजिल्यान्डका बलरहरु निरीह साबित भए । न्युजिल्यान्डका लागि टिम साउथीले तीन विकेट लिए । ट्रेन्ट बोल्टले एक विकेट हात पारे । अन्य कुनै पनि किविज बलरले विकेट लिन सकेनन् । पाँच ओभरभन्दा बढी बलिङ गर्ने न्युजिल्यान्डका हरेक बलरले ५० भन्दा बढी रन खर्चिएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १८:२५
Weather Update