News Griha :: न्यूजगृह
‘दिमाग खराब’को प्रदर्शन रोक्ने घोषणा

काठमाडौं— विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले दिमाग खराब चलचित्रको प्रदर्शनी रोक्ने घोषणा गरेका छन् ।

निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका छन् । चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो ।

पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०/५० प्रतिशत हुने विज्ञप्तिमा बताइएको छ । तेस्रो हप्तादेखि निर्मातालाई ३५ र प्रदर्शकलाई ६५ प्रतिशत शेयर बाँडिने पनि बताइएको छ । 

‘अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौं। हाम्रो निर्णयले सम्मानित दर्शकहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिँदैन र फिल्म प्रदर्शन भइरहुञ्जेल बराबरी शेयर बाँडफाँड हुँदैन। तबसम्मको लागि नेपालमा चलचित्र प्रर्दशन रोक्ने निर्णय गरेका छौं। समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौँ नभए अरू कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराब दर्शकहरूलाई देखाउने छौं भन्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १५:४६
Weather Update