News Griha :: न्यूजगृह
विश्वकप क्रिकेट  : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दै 

काठमाडौं— विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।

मुम्बईको वांखेडे रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ । जारी विश्वकपमा अपराजित रहँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो । भारतले विश्वकपमा सहभागी सबै टिमलाई यस पटक समूह चरणमा पराजित गरेको छ ।

त्यस्तै सन् २०१९ मा विश्वकपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर पनि भारतलाई छ । तर, विश्वकपसहित आईसीसीका प्रतियोगितामा भने रेकर्ड न्युजिल्यान्डको पक्षमा रहेको छ । यसै पटकको समूह चरणमा हराउनुअघि भारतले न्युजिल्यान्डलाई सन् २००३ को विश्वकपमा पराजित गरेको थियो ।

सौरभ गाङ्गुलीको नेतृत्वमा रहेको भारतीय टिमले न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो । त्यसयता भने आईसीसीका सबै प्रतियोगितामा भारत न्युजिल्यान्डसँग पराजित हुँदै आएको छ । अहिलेसम्म आईसीसीका १० प्रतियोगितामा भारत-न्युजिल्यान्ड आमनेसामने हुँदा ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ । जारी विश्वकपमा भने समूह चरणका ९ खेलमध्ये ५ खेलमा जित हात पार्दै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो । 

विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार दिउँसो अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०८:३३
Weather Update