
काठमाडौं— मिचेल मार्सको शानदार शतकको मद्दतले अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ ।
बङ्गलादेशले प्रस्तुत गरेको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ४४.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । मार्सले नटआउट १ सय ३२ बलमा १ सय ७७ रन बनाए । उनले यसक्रममा १७ चौका र ९ छक्का हिर्काए । उनलाई पूर्वकप्तान स्टिभ स्मिथले ६३ रन बनाउँदै अन्तिमसम्म साथ दिए । ओपनर डेभिड वार्नरले ५३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६ रन बनाएको थियो । बङ्गलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ७४ रनको पाली खेले । उनले ७९ बलमा पाँच चौका र २ छक्का हिर्काए ।
यसअघि दुई ओपनरले बङ्गलादेशलाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि तानजिद हसन र लिट्टन दासले ७६ रनको साझेदारी गरे । दुवै खेलाडी समान ३६–३६ रन बनाएर आउट भए ।
कप्तान नजमुल होसेन सान्तोले रन आउट हुनुअघि ४५ रनको योगदान दिए । त्यस्तै, मोहम्मदुल्लाहले ३२ रन बनाए भने खेलको अन्त्यतिर मेहदी हसन मिराजले २० बलमा २९ रन बनाए । अष्ट्रेलियाका लागि सन एबट र एडम जाम्पाले २–२ तथा मार्कस स्टोइनिसले १ विकेट लिए । अन्य तीन जना ब्याट्सम्यान रन आउट भएका थिए ।