बागलुङ— राष्ट्रिय लोकदोहोरी अवार्ड-२०८० को उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका निर्देशक एकिन्द्र साराशंकरलाई गण्डकी प्रदेश का २ सांसदले गृहनगरमै सम्मान गरेका छन् । बुर्तिबाङमा आयोजित दसैँतिहार विशेष मेलाको अवसरमा सांसदद्वय दोर्ण कुँवर र दिलमाया पौवीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
स्थानीय राइजिङ युवा क्लबले सांसदद्वयबाट सम्मान गर्ने कार्यक्रमको आयोजना गरेको थियो । केही समय अगाडि मात्रै राष्ट्रिय लोक दोहोरी अवार्ड २०८० को उत्कृष्ट निर्देशकको रुपमा अवार्ड प्राप्त गरेका साराशंकर तमानखोला गाउँपालिकाका स्थानीय हुन् ।
आफ्नो क्षेत्रको प्रतिभाले नेपालमै उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेको भन्दै सांसदहरुले उनलाई सम्मान गरेको आयोजक बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष मिथुन विश्वकर्माले बताए ।
'एकिन्द्र साराशंकरले आफ्नो प्रतिभामार्फत बागलुङ र यस क्षेत्रको नाम उँचो बनाउनुभएको छ । र, हामीले दशैं तिहार विशेष मेलाको अवसर पारेर यसै क्षेत्रका माननीय ज्यूको हातबाट उहाँलाई सम्मान गरेका हौँ,' क्लबका अध्यक्ष विश्वकर्माले भने ।
सम्मान गर्दै सांसदद्वय कुँवर र पौवीले साराशंकरको अझै प्रगतीको कामना गरे । साथै लोक गीत सङ्गीतको क्षेत्रबाट बागलुङको निर्वाचन क्षेत्र नम्बर २ लाई पनि अझै प्रचार गर्न जरुरी रहेको र स्थानीय लोक भाकालाई मूलधारमा ल्याउन आवश्यक रहेको उनीहरूले बताएका थिए । आफ्नै गाउँठाउँमा सम्मानित हुन पाउँदा आफूलाई निकै खुशी लागेको साराशंकरले बताए ।
'यो मेरो लागि अहोभाग्य हो । म जन्मिएको र हुर्किएको ठाउँको क्लबसँगै यसै क्षेत्रका माननीयहरूले मेरो प्रतिभालाई कदर गर्दै जुन सम्मान प्रदान गर्नुभयो त्यसको लागि म आभारी छु । यो सम्मानले लोक गीतसङ्गीतको क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने जिम्मेवारी थपेको मैले महसुस गरेको छु,' साराशंकरले भने ।
साराशंकर विगत एक दशकभन्दा बढि समय देखि लोक गीतसङ्गीतको विभिन्न विधामा आफूलाई व्यस्त गराइरहेका छन् । निर्देशन, मोडलिङ, कोरियोग्राफिसँगै अभिनेता र गीतकारको रुपमा आफूलाई अब्बल साबित गरिसकेका छन् ।