भारतको लगातार आठौं जित, दक्षिण अफ्रिका ८३ रनमा अलआउट

काठमाडौं— आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले लगातार आठौं खेलमा जित निकालेर शीर्ष स्थानमा बलियो पकड बनाएको छ ।
भारतले आइतबार दोस्रो स्थानको दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्यो। कोलकातामा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२६ रन जोडेको थियो ।
भारतका लागि विराट कोहलीले नटआउट १०१ रन जोडे भने श्रेयस अय्यरले ७७ रनको योगदान गरे। यो कोहलीको ४९ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो । यससँगै कोहलीले सर्वाधिक एकदिवसीय शतक प्रहार गर्ने सचिन तेन्दुलकरको रेकर्ड बराबरी गरे ।
३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमै अलआउट भयो। उसका लागि मार्को जानसेनले सबैभन्दा बढी १४ रन जोडे ।
बलिङमा भारतका रविन्द्र जडेजाले ५ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दा ३३ रन खर्चिए। मोहमद सामी र कुलदिप यादवले २/२ विकेट लिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० ०६:३१