News Griha :: न्यूजगृह
भारतसँग श्रीलङ्काको लज्जास्पद हार

काठमाडौं— आईसीसी क्रिकेट विश्वकपमा भारतले श्रीलङ्कालाई ३०२ रनको विशाल अन्तरले पराजित गरेको छ । यससँगै जारी प्रतियोगितामा अपराजित भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुम्बईको वाङ्खडे रङ्गशालामा श्रीलङ्काले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो । ओपनर रोहित शर्मा ४ रनमै मधुशंकाको शिकार भए । तर त्यसपछि शुभमन गिल र विराट कोहलीले १८९ रनको साझेदारी गरे ।

गिलले ९२ र कोहली ८८ रन बनाएर आउट भए । तेस्रो नम्बरमा मैदान आएका श्रेयस अयरले पनि ८२ रनको योगदान दिए । केएल राहुलले २१ रन बनाए ।​ 

श्रीलङ्काका दिलशान मधुशंका एक्लैले ५ विकेट लिए । देशमुख चमिराको नाममा १ विकेट रह्यो । जवाफमा श्रीलङ्काले खराब प्रदर्शन गर्‍यो। उसले ३ रन मै ४ विकेट गुमायो । पाथुम निशान्का, दिमुथ करुणारत्ने, दुशन हेमन्था, दुशमन्था चमिरा र सादिरा मसराविक्रमा शून्यमै पवेलियन फर्किए ।

कप्तान कुशल मेन्डीस र चरिथा आशलंकाले ११ रन बनाए । कसुन रजिथाले सर्वाधिक १४ रन बनाए । १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदा ५५ रन मात्र बनाउन सफल भयो । 

भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिँदा मोहम्मद शिरजले ३ विकेट लिए । जितपछि १४ अङ्क बनाएको भारत २ खेल अगावै सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्यो ।  

प्रतियोगिता अन्तरगत शुक्रबार अफगानिस्तान र नेदरल्याण्ड्स आमनेसामने हुनेछन् ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०७:१२
Weather Update