News Griha :: न्यूजगृह
टी–२० विश्वकप छनोट : नेपाल यूएईसँग र ओमन बहराइनसँग भिड्दै

काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार नेपालले यूएईसँग खेल्दै छ । मैदान उत्रिँदा नेपाल जितसहित विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ । खेल मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ  ।

यूएईलाई पराजित गरे नेपाल अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुने छ । 

समूह ‘ए’ मा ओमनसँगको खेलको अन्तिम ओभरको पहिलो ३ बलमा विवेक यादवले लगातार छक्का प्रहार गरे पनि नेपालले विजय हात पार्न सकेन् । १ सय ४६ रनको विजय लक्ष्य लिएर आएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली १ सय ४० रनमा अलआउट भएको थियो ।

दीपेन्द्रसिंह ऐरी घाइते भएपछि प्रतियोगितामा खेल्ने मौका पाइरहेका विवेकले बिहीबार ओमनसँगको खेलको अन्तिम ओभरलाई सनसनी बनाएका थिए । सुरुआतमा रक्षात्मक भएर खेलेका विवेक अन्तिम ओभरमा आक्रामक बनेका थिए । पहिलो दुई खेलमा सिंगापुर र मलेसियालाई पराजित गरी ओमनसँगको खेल अगाडि नै नेपाल सेमिफाइनल पुगिसकेको थियो । तर ओमनसँगको हारले नेपाल समूहको उपविजेतामै खुम्चियो ।

यूएईले मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गरेको हो । मूलपानीमा भएको ३ खेल जितेर यूएई समूह ‘बी’ को विजेता बन्यो । 
नेपालले यसअघि पहिलो र अन्तिम पटक सन् २०१४ मा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्करण सम्पन्न भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

यसअघि गत संस्करणका लागि भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो । सन् २०२२ को फेब्रुअरीमा ओमनमा भएको आईसीसी टी–२० विश्वकप क्वालिफायर ‘ए’ फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान थियो ।

नेपाल समूह ‘बी’ को सबै खेल जित्दै विजेताको रूपमा सेमिफाइनल आएको थियो । यूएई भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा आएको थियो । र, नेपाललाई ६८ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । 

शुक्रबार ११ बजे नै अर्को सेमिफाइनलमा ओमन र बहराइनबीच खेल हुँदैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाललाई पराजित गर्नुअघिका २ खेल जितेको ओमन समूह ‘ए’ बाट समूह विजेता हुँदै सेमिफाइनल पुगेको हो । त्यस्तै, अङ्क बराबर भए पनि हङकङ र कुवेतलाई नेट रनरेटको आधारमा पछि पर्दै बहराइन समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०६:३९
Weather Update