
काठमाडौं— टी–२० विश्वकप छनोट खेलमा ओमनसँग ५ रनले पराजित भएको छ । पराजित भएसँगै नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल यूएईसँग खेल्ने छ ।
कीर्तिपरस्थित टीयू मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।
रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए ।
अन्तिम बलमा जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमन ५ रनले विजयी हुँदै समूह ए को विजेता बनेको हो ।
भोलि यूएईलाई हराए नेपाल टी–२० विश्वकपमा छनोट हुने छ । यूएईले बिहीबार हङकङलाई पराजित गर्दै समूह बी को विजेता बनेको छ।
नेपाल र यूएईबीच भोलि शुक्रबार बिहान ११ बजे मूलपानी मैदानमा हुनेछ। यो खेलमा जित हात पार्ने टीम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ। सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि अर्को अवसर छ।