News Griha :: न्यूजगृह
समूह चरणको अन्तिम खेलमा आज नेपालले ओमनसँग खेल्दै, समूह विजेता बन्ने होड

काठमाडौं— आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमनसँग खेल्दै छ। खेल बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ ।

समूह  'ए'मा रहेका दुवै टीम सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए । 

टी-२० आईमा नेपाल र ओमनबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमन एक खेलमा विजयी भएको छ । नेपालले ओमनसँग २०१९ मा चार देश सम्मिलित सिरिज हारेको थियो । नेपाल ६४ रनमा अल आउट हुँदै ६ विकेटले खेल गुमाएको थियो । 

नेपालले २०२२ मा ओमनसँग तीन खेल खेलेको थियो । तीनै खेलमा नेपालले ओमनलाई सहजै हराएको थियो । 

घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख राम्रो लयमा छन् । सोमपाल कामी, करण केसी र गुलसन झाबाट नेपालले राम्रो अलराउण्ड प्रदर्शनको अपेक्षा  छ। विवेक यादव घरेलु क्रिकेटमा राम्रो अलराउन्डर हुन् । 

आजै हुने समूह 'ए'को अन्तिम खेलमा समूह मलेसिया र सिंगापुर प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो ।  आज नै यूएई र हङ्गकङ तथा बहराइन र कुवेत पनि आमनेसामने हुनेछन् । यो खेलपछि मात्र समूह 'बी'बाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०६:४२
Weather Update