
काठमाडौं— टी–२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो । नेपालले केहीबेरमा जबाफी ब्याटिङ गर्नेछ ।
नेपालका लागि पहिलो विकेट अभिनास बोहराले ५.५ ओभरमा लिए। उनले मलेसियाका ओपनिङ ब्याट्सम्यान जुबाइदी जुल्किफीलाई २४ रनमा कुशल मल्लबाट २४ रनमा क्याच गराए ।
अर्को ओभरमा नेपालले मलेसियाका कप्तान अमहद फइजलाई ३ रनमा रनआउट गर्यो । दुई रन लिने चक्करमा रहेका उनलाई करण केसीको थ्रोइङमा विकेटकिपर आसिफले रनआउट गरे ।
त्यसपछि सन्दीप लामिछानेले विरनदीप सिंहलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे। कप्तान रोहित पौडेलले शर्भिन मुनियान्डीलाई १३ रनमा क्याच गरे। त्यसअघि पाँच बलमा रोहितले १५ रन खर्चिएका थिए।
१४औं ओभरमा गुल्सन झाले ६८ रन बनाएर खेलिरहेका ओपनर सयद अजिजलाई कुशल भुर्तेलबाट क्याच गराए । मलेसियाका लागि सबैभन्दा बढी रन बनाएका उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। गुल्सनले अइनूल अफिजलाई पनि रन आउट गर्न विकेटकिपर आसिफलाई बल दिएका थिए ।
१८औं ओभरमा अभिनासले मोहमद अमिरलाई ८ रनमा बोल्ड गरे । अभिनासले अन्तिम ओभरमा साजरुल इद्रुसलाई कुशल भुर्तेलबाट ७ रनमा क्याच गराउदा फित्रि शामलाई ६ रनमा बोल्ड गरेका थिए ।