
काठमाडौं— आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो दिन चार खेल हुनेछ । समूह 'ए' मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समूह 'ए' अन्तर्गत नै ओमान र मलेसियाबीचको खेल त्रिवि मैदान मै दिउँसो सवा १ बजे सुरु हुनेछ ।
यस्तै समूह 'बी' अन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । समूह 'बी' कै हङकङ र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मूलपानीमा हुनेछ ।
कात्तिक १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् ।
दोस्रो पटक टी-२० विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाललाई यस पटक घरेलु मैदान र दर्शकको साथ हुनेछ । नेपालले सन् २०१४ मा बङ्गलादेशमा टी-२० विश्वकपमा डेब्यु गरेको थियो । तर, त्यसपछिका तीन संस्करणमा भने नेपाल छनोट हुन सकेन ।
यसपटक नेपाललाई घरेलु मैदानमै शीर्ष दुईमा रहेर विश्वकप पुग्ने सुनौलो अवसर छ । अर्को वर्ष हुने टी-२० विश्वकपमा २० टोली सहभागी हुँदैछन् ।