
काठमाडौं — चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् ।
ऐतिहासिक पदकधारी पलेशा आइतबार बिहान स्वदेश आइपुगेकी हुन् । चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् ।
पलेशाले एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभइ नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो । नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउदै आएको छ । पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने यसै संस्करणदेखि मात्र समावेश गरिएको हो ।
पलेशाले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।
पलेशाले सन् २०१८ मा काठमाडौं भएको दोश्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले भनिन्, 'मेरो लक्ष्य त गोल्ड नै थियो, त्यसको लागि मैले धेरै मेहेनत गरेको थियो । योपाली एकदमै गारो पनि भएको थियो किनभने म एक्लै थिए । २ महिनादेखि एक्लै नै ट्रेनिङ गर्दै थिए कोही गुरुहरू पनि थिएनन् ।'
उनले सरकारले खेलाडीहरूलाई आर्थिक सहयोग गर्नुपर्ने बताइन् । 'यो खेल अहिले पनि ओझेलमा नै छ । यस्तो प्रकारको खेलहरू सबैले खेल्न सक्छन् सरकारले यसलाई ध्यान दिने हो भने सबै जना खेलतर्फ आकर्षित हुन सक्छन्,' उनले भनिन् ।