News Griha :: न्यूजगृह
सन्दीपको कमब्याकले नेपालको बलिङ मजबुत हुने विश्वास 

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईँले भोलिबाट सुरु हुने टी–२० विश्वकप क्वालिफायरका आफ्नो टोली तयार रहेको बताएका छन् ।

प्रतियोगितापूर्व पत्रकारसँगको अन्तरक्रियामा प्रशिक्षक देसाईँले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको तर्क गरे । राम्रो नतिजाका लागि आवश्यक रणनीतिहरू तयार गरिएको उनको भनाई छ ।

‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं,’ उनले भने, ‘हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ।’ 

Monty-Desai-1698562394.jpg
प्रशिक्षक मोन्टी देसाईँ

उनले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताए । त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाइ छ ।

त्यस्तै कप्तान रोहित पौडेलले पछिल्लो समय नेपाली टोलीले राम्रो खेलिरहेको दाबी गर्दै त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको स्वीकार गरे ।

‘हामीले सुरुको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो,’ रोहितले भने । 

उनले ब्याटिङ अर्डर पनि आवश्यकताका आधारमा परिर्माजन हुने बताए । उनले भने, ‘हामी लचक हुनुपर्छ । ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ । ’  

कुनै पनि टीमलाई कमजोररूपमा नलिइने र आफ्नो वेस्ट क्रिकेट खेल्ने कप्तान पौडेलको भनाई छ । सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने उनीहरूको विश्वास छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १२:३६
Weather Update