News Griha :: न्यूजगृह
त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं— त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । बिहान ११ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ ।

पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ । ​यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा छ । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो भने नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो ।

यसै सिरिजमा हङकङविरुद्ध कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि १४५ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए ।  सिरिजमा हालसम्म १४७ रन बनाएका आसिफ सेख सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । १० विकेट लिएका करण केसी र ७ विकेट लिएका सोमपाल कामी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई स्थानमा छन् । कुशल मल्ल, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी राम्रो लयमा छन् ।

आईसीसी टी-२० विश्वकप छनोटअघि नेपाल र यूएईका लागि यो अन्तिम खेल हो । त्यसकारण टीमको कमजोरी पत्ता लगाउन र रणनीति बनाउन यो खेल दुवै टीमका लागि निकै महत्त्वपूर्ण हुनेछ । फाइनल खेलका लागि दुवै टीमले आफ्नो उत्कृष्ट टीम मैदानमा उतार्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०७:०४
Weather Update