News Griha :: न्यूजगृह
एकदिवसीय विश्वकप क्रिकेट : साविक विजेता इङ्ल्यान्ड श्रीलंकासँग पराजित

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकपको बिहीबार खेलिएको महत्वपूर्ण खेलमा साविक विजेता इङ्ल्यान्ड श्रीलंकासामु निरीह बनेको छ ।

पाँचौँ चरणको अन्तिम खेलमा पूर्वविजेता श्रीलंकाले साविक विजेता इङ्ल्यान्डलाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो । जारी विश्वकपमा पाँचौँ खेल खेलेको इङ्ल्यान्डको यो चौथो हार हो ।

पाँचौँ खेल खेलेको श्रीलंकाको भने यो दोस्रो जित हो । जितसँगै श्रीलंकाले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना प्राविधिक रुपमा जीवितै राखेको छ ।

चौथो हारपछि इङ्ल्यान्डको भने सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।  

बेंगलौरमा खेलिएको खेलमा इङ्ल्यान्डले टस जिती पहिले ब्याटिङ गर्दै ३३.२ ओभरमा अलआउट हुनुअघि एक सय ५६ रनमात्र बनाउन सक्यो ।

जबाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने २५.४ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ६० रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । जितपछि श्रीलंकाले जारी विश्वकपको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ ।

जारी विश्वकपमा शुक्रबारदेखि छैटौँ चरणको खेल सुरु हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०६:१६
Weather Update