
काठमाडौं– एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेर नेपाल फर्केको नेपाली क्रिकेट टोलीका कप्तान देव खनालले आफूहरूको मुख्य परीक्षा बाँकी नै रहेको बताएका छन् ।
मलेसियामा सम्पन्न प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीका कप्तान खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टोलीले राम्रो प्रर्दशन गर्दै आएको र दुवैमा क्वालिफायर भएपनि आफूहरूको मुख्य परीक्षा अझै पनि बाँकी नै रहेको बताएका छन् ।
उनले भने, ‘हाम्रो टोलीले वर्ल्डकप र एसिया कप क्वालिफलायर गर्यौँ । मलाई हाम्रो मुख्य टेस्ट अब हुन्छ जस्तो लाग्छ । टेस्ट प्लेइङ राष्ट्रका टोलीहरूसँग अब खेल्नुपर्छ, त्यहीबाट हाम्रो टेस्ट सुरु हुन्छ ।’
उनले सबैले राम्रो प्रर्दशन गरेकै कारण टोलीले यो उपलब्धि हासिल गरेको समेत बताए ।
‘हामी सबैजनाको माइण्डसेट क्लियर थियो । त्यही १४ जनाले टीमले वल्र्डकप क्वालिफायर गरायौँ, यही टीमले एसिया कप पनि क्वालिफायर गराउँछौँ भन्ने नै थियो । हामी सबै जनाको ध्येय नै टीमलाई क्वालिफायर गराउने थियो । सोही अनुसार टोलीले ग्राउण्डमा प्रदर्शन गरेकै कारण च्याम्पियन भयौँ’, खनालले भने ।
एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्केको हो । क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले फूलमाला र खादाले टोलीलाई विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।