News Griha :: न्यूजगृह
हङकङले हरायो यूएईलाई, तर नेपालसँग फाइनल यूएईले नै खेल्ने

काठमाडौं— त्रिकोणात्मक टी-२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर,  रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।

बुधबार मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हङकङले पहिलो विकेट छिट्टै गुमाएको थियो । ओपनर निजाकत खान मात्र ९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ३३ थियो । तर, कोट्जीले दोस्रो विकेटका लागि अंशुमान रथसँग १०६ रनको साझेदारी गरे । रथ व्यक्तिगत ४१ रनमा आउट भए ।

कोट्जीले बाबर हायातसँग ४१ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । अन्तिम १० बल खेल्न बाँकी छँदा ८६ रनमा आउट भए । ५५ बलको सामना गरेका उनले १० चौका र ४ छक्का हानेका थिए । हायत ६० रनमा अविजित रहे । २० बलको सामना गरेका उनले ५ चौका र ५ छक्का हानेका थिए । यससँगै उनी टी-२० आईमा सर्वाधिक रन बनाउने हङकङका ब्याटर बने । उनले १२१८ रन बनाएका छन् । यसअघि निजाकत खानले १२०६ रन बनाएका थिए ।

जवाफमा यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसको सुरुवात निकै खराब थियो । ८१ रन जोड्दा ५ विकेट गुमाइसकेको बाजिल हमेद र निलांश केसवानीले छैटौँ विकेटका लागि अविजित ६२ रनको साझेदारी गरे । निलांश ३१ र बाजिल ३० रनमा अविजित रहे ।

खालिद शाहले ३५ र अलिशान आशरफूले ३० रन जोडे । शृङ्खलामा पहिलो जितसँगै हङकङले पनि २ रन जोडेको थियो । तर रन रेटका आधारमा समान २ अङ्क जोडेको यूएई फाइनलमा पुगेको छ । बुधबार यूएईलाई १३४ भन्दा कम रनमा रोक्न सकेको भए हङकङ रनरेटमा बाजी मार्दै फाइनल पुग्ने थियो । तर, पछिल्लो तीन ओभरमा हानेको चार बाउन्ड्री मद्दतमा यूएईले १३४ रन कटायो ।

अब यूएईले  समूह चरणको चार वटै खेल जितेर फाइनलमा पुगेको नेपालसँग पर्सि खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १६:५९
Weather Update