
धनगढी— स्टारसीटी युवा क्लब गौरीगंगा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टारसीटीले ‘जगशक्ति गोल्ड टीएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको ८ औँ मिनेटमै स्टारसीटीका कमल देउवाले गोल गरी टीमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफ १–० मा रहेको खेलमा ७५ औँ मिनेटमा आयोजक गौरीगंगाका नीराजन धामीले १ गोल फर्काएपछि खेल बराबरीमा सकियो ।
टाइब्रेकरमा स्टारसीटीका कुशल देउवा, माधव भण्डारी, किरण बोहरा र विष्णु चौधरीले गोल गरे । गौरीगंगा स्पोर्ट्सका तर्फबाट प्रकाश बोहरा, भरत बोगटी र सन्दीप कडायतले मात्र गोल गर्न सके ।
प्रतियोगिताअन्तर्गत आज आइतबार बाजुरा र नवलपरासी आमनेसामने हुनेछन् । विजेता टोली अन्तिम चारमा पुग्ने छ । स्टारसीटीसँगै बर्दियाको नवयुवा मैत्रीभाव एकता समाज क्लब र बाँकेको रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनल पुगिसेका छन् ।