
काठमाडौं— विश्वकप २०२३ को शीर्ष स्थानमा रहेका दुई देशबीचको खेलमा भारतले आइतबार न्युजिल्याण्डलाई चार विकेटले पराजित गरेको छ । यससँगै प्रतियोगितामा भारतको अपराजित यात्रा कायमै रह्यो । न्युजिल्याण्डलाई पराजित गरेसँगै भारतको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनेको छ ।
विश्वकप २०२३ मा भारतको यो लगातार पाँचौं जित हो । प्रतियोगितामा न्युजिल्याण्डको अपराजित यात्रामा भने विराम लागेको छ । उसले यसअघिका चार खेलमा जित हासिल गरेको थियो ।
पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ७४ रनको लक्ष्य भारतसामु राखेको थियो । लक्ष्य पछ्याउने क्रममा भारतका लागि विराट कोहलीले उत्कृष्ट ९५ रन बनाए । जसको मद्दतले ४८ ओभरमा ६ विकेट गुमाएर भारतले विजयी रन बटुल्यो ।
शतक लगाउनबाट चुकेका कोहलीले ८ चौका र २ छक्का प्रहार गरे । रविन्द्र जडेजाले नटआउट रहेर ३९ रन बनाए । कप्तान रोहित शर्माले ४६ रन बनाएर जितको आधार तयार पारेका थिए । न्युजिल्याण्डका लागि बलिङतर्फ लोकी फर्गुसनले २ विकेट लिएका थिए । ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल स्यान्टनरले समान १-१ विकेट लिएका थिए ।
न्युजिल्याण्डले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । उसका लागि ड्यारल मिचेलले १ सय ३० रनको सानदार इनिङ्स खेले । उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै रचिन रविन्द्रले ७५ रनको योगदान दिए । बलिङतर्फ भारतका मोहम्मद सामीले ५४ रन दिएर ५ विकेट लिए भने कुलदीप यादवको नाममा २ विकेट रह्यो । जसप्रित बुमराह र मोहम्मद सिराजले समान १-१ विकेट हात पारेका थिए ।