News Griha :: न्यूजगृह
यूएईले हङकङलाई हरायो, भोलि नेपालसँग खेल्ने 

काठमाडौं— त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जितका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनायो । हङकङका लागि बाबर हायातले ४५ बल खेल्दै तीन चौका र पाँच छक्काको मद्दतमा ६६ रन बनाए । त्यस्तै  एजाज खानले ४८ रन बनाए । यी दुवै खेलाडीले चौथो विकेटका लागि एक सय १४ रनको साझेदारी गरेका थिए ।

यूएईका जहुर खानले तीन विकेट लिए भने निलांश केश्वानीले दुई विकेट झारे । सिरिजअन्तर्गत भोलि नेपाल र यूएईबीच खेल हुनेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १६:५६
Weather Update