
काठमाडौं— त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । उनले २० बलमा दुई छक्का र एक चौका हिर्काए । गुल्सन झाले पनि अविजित १४ रनको योगदान गरे । उनले पाँच बलमा दुई छक्का प्रहार गरे । नेपालले अतिरिक्त रुपमा ६ रन पायो ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी आठ रन बनाउँदै हङ्कङका बलर एहसान खानको बलमा बोल्ड भएका थिए । उनले आठ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए ।
नेपालको दोस्रो विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । उनी एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई हङ्कङका बलर एहसान खानले बोल्ड गरेका हुन् । तेस्रो विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किएका थिए ।
सन्दीप जोरालाई केवल तीन रनको व्यक्तिगत स्कोरमा हङ्कङका बलर एहसान खानले बोल्ड गरेका थिए । एहसान खानले लिएको यो तेस्रो विकेट थियो । सन्दीप जोरा आउट हुँदा नेपालले ७.३ ओभरमा ४७ रन बनाएको थियो ।
यसैगरी नेपालको चौथो विकेटका रुपमा आसिफ शेख ४२ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ३४ बलको सामना गरी ६ वटा चौका हिर्काएका थिए । आसिफको विकेट यासिम मुर्तजाले लिएका हुन् । आसिफ आउट हुँदा नेपालले १२।१ ओभरमा ७७ रन बनाएको थियो ।
त्यसअघि नेपालले जितका लागि हङ्कङबाट ९५ रनको लक्ष्य पाएको थियो । हङ्कङलाई ठूलो योगफल बनाउन नदिन नेपाली टोलीका बलर करण केसीले चार विकेट लिएका थिए । उनले चार ओभरमा १५ रन खर्चिएका थिए । सोमपाल कामी र अविनोष बोहराले पनि दुई—दुई विकेट हात पारेका थिए । कुशल मल्ल र मौसम ढकालले एक—एक विकेट लिएका थिए ।
हङ्कङका लागि भने दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाएका थिए । यासिम मुर्तजाले ३६ र जिसन अलीले १७ रन बनाएका थिए ।