
काठमाडौं— केही समय अगाडि काठमाडौंमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ । यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ ।
संस्कृत भाषामा ‘कौसीद’ को अर्थ बैंकबाट लिइएको ऋणसम्बन्धी हो । मधेसको मिथिलानगरी जनकपुरमा जन्मेर हुर्किएका निर्देशक भाष्करले सिङ्गो नेपालको समास्यालाई चलचित्रको विषय बनाए ।
केही पुस्तकलाई मैथलीमा अनुवाद र केही छोटा चलचित्रको निर्देशन गरिसकेका निर्देशक भाष्करको यो ठूलो पर्दाका लागि पहिलो काम हो ।
‘मैले शिक्षकको समस्यालाई भोग्ने शिक्षक भेटेको थिएँ । छोरालाई उच्च शिक्षा पढाउनुपर्यो, छोरीको विवाह गराइदिनुपर्यो, घर बनाउनुपर्यो, यो बेला सम्झिने भनेको बैंक हो । तर यी सबमा एक इमान्दार शिक्षक एक्लो हुन्छ, त्यहीँ भोगाइ पर्दामा छ’, निर्देशक भाष्करले भने, ‘यसलाई मैले दुई वर्ष अगाडि नै लेखेर तयार गरेको थिएँ । अहिले यो समस्या सबैको आँखामा परेको छ । हामीले चलचित्रमार्फत आफ्नै समाजको मौलिक विषयलाई उठाउन खोजेका थियौँ ।’