News Griha :: न्यूजगृह
फिफा विश्वकप छनोट :  नेपालले लाओससँग खेल्दै

काठमाडौं— फिफा विश्वकप छनोट अन्तरगत पहिलो चरणको दोस्रो लेगमा आज नेपालले लाओससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे लाओसको घरेलु मैदानमा सुरु हुनेछ ।

नेपाल गत बिहीबार दशरथ रङ्गशालामा भएको पहिलो लेगमा एक एक गोलको बराबरी खेल्दै हारबाट जोगिएको थियो । पहिलो लेगमा लाओसले ३३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफमा अन्जन विष्टले बराबरी गोल फर्काए ।

घरेलु समर्थक माझ अपेक्षा अनुसारको खेल प्रदर्शन गर्न नसकेको नेपालले दोस्रो लेग जित हात पार्ने विश्वास लिइएको छ । लाओसले आफ्नो मैदानमा नेपाललाई स्तब्ध पार्ने लक्ष्य राखेको छ। फरवार्ड अन्जनका लागि यो खेल ऐतिहासिक बन्न सक्छ। यदि उनले आज गोल गरे राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने पुरुष खेलाडीको किर्तिमान बनाउने छन् । 

त्यसअघि हिजो भएको प्रिम्याच कन्फरेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले लाओसविरुद्धको खेल आफ्नो करियरको महत्वपूर्ण मध्येको एक भएको प्रतिक्रिया दिए। भिन्चेन्सोले दोस्रो चरण प्रवेश गर्ने हो भने जित्नुको विकल्प नभएको धारणा राखे। 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०७:०६
Weather Update