
काठमाडौं— आईसीसी विश्वकप क्रिकेटमा आइतबार इङ्ग्ल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ । भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुने छ ।
जारी क्रिकेट विश्वकपमा इङ्ग्ल्याण्डले आफ्ना दुई मध्ये एक खेलमा जित र एक हार बेहोरेको छ। अफगानिस्तानले भने आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ ।
इङ्ग्ल्याण्डले आफ्नो पहिलो खेल न्युजिल्याण्डसँग ९ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशलाई १३७ रनले पराजित गरेको थियो । अफगानिस्तानले भने पहिलो खेलमा बङ्गलादेशसँग ६ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा भारतसँग हार बेहोरेको थियो ।
यस विश्वकपमा दुवै टीमको यो तेस्रो खेल हो । यस खेलमा डिफेन्डिङ च्याम्पियन इङ्ग्ल्याण्डले जित हासिल गरेर विजयी लय देखाउन चाहन्छ भने अफगानिस्तान भने यस विश्वकपमा पहिलो जितकै खोजीमा रहेको छ ।
दुवै देशबीच अहिलेसम्म केवल २ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवै खेल इङ्ग्ल्याण्डले जितेको छ ।