
काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टीम भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।
शनिबार अहमदाबादमा भएको खेलमा भारतीय बलरले उत्कृष्ट प्रदर्शन गर्दा पाकिस्तान ४२.५ ओभरमा १९१ रनमै अलआउट भएको थियो । भारतले १९२ रनको लक्ष्य ३०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि कप्तान रोहित शर्माले ८६ रन जोड्दा श्रेयष अय्यरले नटआउट ५३ रन जोडे । त्यसअघि भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर अजामले ५० रन र मोहमद रिजवानले ४९ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा पेभिलियन फर्के ।
पाकिस्तानका पछिल्ला ७ ब्याट्सम्यान मध्ये ६ ब्याट्सम्यान दोहोरो अङ्कमा रन जोड्न नपाइ आउट भएका थिए । बलिङमा भारतका जसप्रित बुमराह, मोहमद सिराज, हार्दिक पाण्ड्या, कुलदिप यादव र रविन्द्र जडेजाले २-२ विकेट लिए । अङ्क तालिकामा भारत ३ खेलबाट ६ अङ्क जोड्दै शीर्ष स्थानमा छ ।
दोस्रो स्थानको न्युजिल्यान्डको पनि समान ६ अङ्क छ । पाकिस्तान भने ३ खेलबाट ४ अङ्क जोड्दै चौथो स्थानमा छ ।